वीरगन्ज : साउन ३१ गते। वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसको परीक्षमा उत्तरपुस्तिका नै साटेर उत्तीर्ण गराउने गिरोहका दुई जना बुधबार रङ्गेहात प्रहारीले पक्राउ गरेको हो।

प्रहरीले ठाकुरराम बहुमुखी क्याम्पसको परीक्षा शाखाका पूर्वप्रमुख मोहन यादव र त्रिजुद्ध मावि परीक्षा केन्द्रका प्रमुख विनोद स्वर्णकारलाई उत्तरपुस्तिका साट्दै गरेको अवस्थामा रङ्गेहात पक्राउ गरेको जनाएको छ।

ठाकुरराम क्याम्पसको बीबीएस दोश्रो वर्षको परीक्षा केन्द्र वीरगन्जकै त्रिजुद्ध माविमा तोकिएको छ। बुधबार बिहान परीक्षा सकिने बेलामा यादवले एक विद्यार्थीले दिंदै गरेको परीक्षाको उत्तरपुस्तिकाको सट्टा बाहिरबाट लेखेर ल्याइएको अर्को उत्तरपुस्तिका राख्न भन्दै परीक्षा केन्द्र प्रमुख स्वर्णकारलाई दिंदै गरेको भेटिएपछि यादव र स्वर्णकार दुवै जनालाई रङ्गेहात पक्राउ गरिएको वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक विदूर शिवाकोटीले बताए।

निरीक्षक शिवाकोटीका अनुसार ,त्रिजुद्ध माविको परीक्षा केन्द्रमा ठाकुरराम क्याम्पसको परीक्षा चलिरहेको र त्यहाँ बाहिरबाट लेखेर ल्याइएका उत्तरपुस्तिका साट्ने चलखेल भइरहेको सूचनाको आधारमा बुधबार बिहान प्रहरी निरीक्षक शिवाकोटी नेतृत्वको प्रहरी टोलीले खटिएको थियो।

वर्षौंदेखि क्याम्पसमा कार्यरत परीक्षा शाखाका बहालवाला कर्मचारी,पूर्व कर्मचारी, प्राध्यापक र केही विद्यार्थी संगठनका नेताहरुको मिलोमतोमा विद्यार्थीसँग रकम लेनदेन गरी परिक्षामा उत्तरपुस्तिका नै साटेर उत्तीर्ण गराउने धन्दा चल्दै आएको भनिएको छ।

क्याम्पसमै कार्यरत कर्मचारीको अनुसार यो धन्दा वर्षौंदेखि चल्दै आएको छ । एउटा विषयको परीक्षामा पास गराउन विद्यार्थीसँग ३० देखि ३५ हजार रुपैयाँ असुली गरिन्छ। परीक्षामा वास्तविक परीक्षार्थीको सट्टा नक्कली परीक्षार्थीलाई बसाएर लेख्न पनि लगाइन्छ। अनि कापी साट्ने पनि गरिन्छ।

उक्त धन्दा बन्द हुने भयो भनेर नै दुई महिना पहिले ठाकुरराम क्याम्पसको परीक्षा केन्द्र अन्य जिल्लामा तोकिएपछि विद्यार्थी संगठनहरुले आन्दोलन गरेका आरोप छ।

परीक्षा केन्द्रबाट बुधबार पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर अनुसन्धान भइरहेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए।

दुवैविरुद्ध शिक्षा ऐन–२०२८ को दफा १७ मा प्रश्नपत्रको गोपनियता भंग गरेमा वा अरुको परीक्षा दिएमा वा परीक्षाको मर्यादा भङ्ग गरेमा त्यसमा संलग्नलाई कसूरको मात्रा हेरेर १ लाख रुपैयाँ जरीबाना वा ६ महिना कैद वा दुवै सजाय हुन सक्ने उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0