मुन्धुमी पवित्र स्थल मुक्कुमलुङ (कथित पाथिभरा) क्षेत्रमा सरकारी तथा गैरसरकारी अतिक्रमणको विरुद्धमा निरन्तर लडाई चलिरहेको लगभग ५ वर्ष भएको सर्वविदितै छ । मुक्कुमलुङ क्षेत्रमा उपनिवेशवादी विकासकोे अवधारणा अन्तर्गत व्यापारिक कम्पनीले सरकारको संरक्षणमा केवलकार निर्माण गरेर पवित्र स्थललाई अपवित्र बनाउने मात्र नभइ कब्जामा लिन खोजिरहेको छ । ताप्लेजुङमा यसबारे यतिको विरोध, जनप्रदर्शन हुँदाहुँदै दलाल नोकरशाही पूजीपति व्यापारीलाई पक्षपोषण गर्न सरकार, प्रतिपक्षमा रहेका प्रायः दलहरू र नेताहरू संलग्न हुनु दुःखद पक्ष हो । यसको अतिरिक्त केवलकार निर्माणलाई सफलीभूत पार्न व्यापारी कै इशारामा मुक्कुमलुङ क्षेत्रमा सशस्त्र बेस क्याम्प राख्ने निर्णय भइआएको भन्ने ताप्लेजुङको प्रमुख जिल्ला अधिकारीज्यूबाट जानकारी प्राप्त हुन आएकोमा यस्तो जनविरोधी निर्णयप्रति हाम्रो गम्भीर असहमति र आपत्ति भएको जानकारी गराउन चाहन्छौ ।

मुक्कुमलुङ क्षेत्रमा हालसम्म शान्ति, अमन चयन रहदै आएको हो । कुनै तीर्थयात्री, स्थानीय जनता, मुन्धुमका संरक्षकहरूले शान्ति सुरक्षाको माग नगरेको अवस्थामा मुन्धुमीस्थल समाप्त गर्ने प्रपञ्चस्वरुप सशस्त्र वेस क्याम्प राख्नु धार्मिक, सास्कृतिक झगडाको विउ रोप्नु हो । जनताको कर परिचालन गरेर समुदायको मुन्धुमीस्थलमाथि अतिक्रमण गर्न सरकारले सशस्त्र बेस क्याम्प खडा गर्न मिल्दैन । मुन्धुमवादीहरूको स्वतन्त्र, पूर्व मञ्जुरी विना बनाइएको त्यस्तो केवलकार निर्माण र सशस्त्र बेस क्याम्प खडा गर्ने निर्णयहरू सरकारले तुरुन्त खारेज गर्नुपर्दछ । समुदायको आस्था विश्वासमाथि राज्यले नजरअन्दाज नगरी सम्मान गर्न हामी आव्हन गर्दछौ । अन्यथा जवरजस्ती केवलकार निर्माण गर्नको लागि सशस्त्र बेस क्याम्प खडा गर्न खोजिएमा हामी न्यायप्रेमी संघसस्थाहरू मुक्कुमलुङको पवित्रता जोगाउन र आस्थाको स्थल संरक्षण गर्न प्रतिरोध गर्ने जानकारी गराउन चाहन्छौ ।

नाराहरूः
मुक्कुमलुङ मुन्धुमी आस्थाको स्थल हो : अतिक्रमण बन्द गर ।
पवित्र स्थलमाथि केबलकार निर्माण : बन्द गर ।
मुक्कुमलुङ युमा माङ्ङे : जिन्दावाद, तिया हा हा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0