काठमाडौं: भदौ ५ गते । गृह मन्त्रालयले कुखुरा तथा कुखुराजन्य पदार्थको अवैध आयातमा वृद्धि भएको जनगुनासोलाई कडाइपूर्वक सम्बोधन गरेको छ। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा भदौ ३ गते सरोकारवाला सरकारी र व्यवसायी निकायबीच बृहत् छलफल गरेको थियो।

उक्त छलफल बमोजिमको निष्कर्ष कार्यान्वयनका लागि मंगलबार शाखा अधिकृत अशोककुमार आचार्यले गृह मन्त्रालय नेतृत्वको आदेशअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र सबै जिल्ला प्रशासन कार्यालयका नाममा पाँच बुँदे निर्णय जारी गर्नुभएको हो।

आदेशको पहिलो र दोस्रो बुँदामा खुला सिमानाबाट गैरकानुनी रूपमा ओसारपसार हुन सक्ने कुखुरा तथा कुखुराजन्य पदार्थको नियन्त्रणको व्यवस्था मिलाउने, अवैध ओसारपसारमा संलग्न व्यक्ति तथा प्रयोग हुने सवारी साधनलाई प्रचलित कानुन बमोजिम आवश्यक कानुनी कारबाही गर्ने उल्लेख गरिएको छ।

आदेशमा सीमा नाकामा गस्ती निगरानी बढाउने, सीमा क्षेत्रमा अवैध तथा मापदण्डविपरीत खोलिएका कुखुरा फार्म, वधशाला ह्याचरी र कोल्ड स्टोरहरूलाई हटाउने उल्लेख छ।

गृहले भन्सार तथा क्वारेनटाइनको प्रभावकारिता वृद्धि गर्न आवश्यक समन्वय तथा सहयोग गर्न आदेश दिएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0