तौलिहवा: भदौ १३ गते । कपिलवस्तुको विजयनगर गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले शौचालय नभएको पाइएको छ। गाउँपालिका खुला दिशामुक्त भएको पाँच वर्ष बित्दा पनि जनप्रतिनिधि र कर्मचारीले शौचालय नबनाएको भेटिएको हो। केही दिनअघि गाउँपालिकाकै खानेपानी तथा सरसफाइ अनुगमन टोलीले उक्त तथ्य फेला परेको हो।

गाउँपालिकालाई २०७५ जेठ २४ गते खुला दिशामुक्त घोषणा गरिएको भए पनि जनप्रतिनिधिको घरमा भने शौचालय नभएको तथ्य बाहिरिएको हो। शौचालय नभएका जनप्रतिनिधि र कर्मचारी नै खुला ठाउँमा दिसा पिसाव गर्दै आएको पाइएको छ।

उक्त गाउँपालिकाका खानेपानी तथा सरसफाइ कार्यक्रमका संयोजक अर्जुन बेल्बासेका अनुसार गाउँपालिकाभित्रका शिक्षक, कर्मचारी, जनप्रतिनिधिकै घरमा शौचालय निर्माण र प्रयोग नभएको पाइएको बताए। ‘ गाउँपालिका–१ का वडाध्यक्ष इन्नर थारूको घरमा शौचालय छैन, त्यस्तै गाउँपालिकाको जिन्सी शाखामा कार्यरत इलेक्ट्रिसियन सङ्गम खटिक, आधारभूत स्वास्थ्य चौकीमा कार्यरत कार्यालय सहयोगी राजेश कोरी, वडा नम्बर ७ स्थित जनज्योति आधारभूत विद्यालय मानपुर–ढोढरीका प्रधानाध्यापक सगराम बढईको घरमा शौचालय छैन।’ उनले बताए।

त्यस्तै वडा नं. २ का वडा सदस्य सोमई केवट, गाउँपालिकाका पशु शाखामा कार्यरत कार्यालय सहयोगी हेमराज तेली र गुगौली स्वास्थ्य चौकीमा कार्यरत कार्यालय सहयोगी त्रिभुवन भरको घरको शौचालयमा ढोका नभएको वडा नं. ३ की वडा सदस्य जमुर्ता केवटको शौचालयमा ढोका नलगाएको प्रयोगविहीन अवस्थामा रहेको उहाँले बताउनुभयो।

त्यस्तै, वडा नं. ५ का वडा सदस्य माधवलाल नाउँ, वडा नं. ६ का कम्प्युटर अपरेटर प्रदीपकुमार तिवारीको घरमा शौचालय नभएको र वडा नं. ५ का वडा सदस्य राजमती पासीको शौचालय पूर्ण रूपमा प्रयोग नभएको उहाँको भनाइ छ। शौचालय नभएका जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरूको गाउँपालिकाद्वारा प्रदान गर्ने सेवा सुविधा रोक्का गर्न गाउँपालिकालाई सिफारिस गरिएको बेल्बासेले बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0