काठमाडौँ: भदौ १४ गते । यस वर्षको मनसुन अवधिमा जेठ ३१ देखि भदौ ८ गतेसम्ममा ७३ जनाको मृत्यु साथै आठ अर्ब ५० करोड क्षति भएको छ। एक सय दुई जना घाइते भएका छन् भने २० जना बेपत्ता भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापनले उल्लेख गरेको छ।

मनसुन अवधिमा मुलुकका एक सय ३५ ठाउँमा बाढी, चार सय २९ ठाउँमा पहिरो तथा ८३ वटा चट्याङका घटना भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताए।

बाढीमा परी १२ जनाको मृत्यु, सात घाइते र २१ बेपत्ता भएका छन् भने पहिरोमा परी ३८ जनाको मृत्यु, ४० घाइते र नौ बेपत्ता भएको कार्यकारी प्रमुख पोखरेलले जनाएका छन् । वर्षाका कारण दुई जनाको ज्यान गयो भने चट्याङबाट २१ जनाको मृत्यु र ४३ घाइते भएका छन।

यस वर्षको बाढी पहिरोबाट ३२६ दशमलव ८३ मेघावाट क्षमताका निर्माणाधीन १७ तथा सञ्चालनमा रहेका १३२ दशमलव ७५ क्षमताका १३ जलविद्युत् आयोजनामा क्षति पूगेको छ ।

त्यस्तै, बाढी पहिरोका घटनाबाट देशका २९ राजमार्गका २५० ठाउँमा रु ४० करोड बराबर क्षति भएको तथ्याङकमा उल्लेख छ । मनसुन अवधिमा भएका बाढी पहिरोका घटनाबाट रु १५ अर्बभन्दा बढी भौतिक पूर्वाधारलगायतका सम्पत्तिको क्षति भएको जनाइएको छ।

देशका विभिन्न स्थानमा चार मोटरेवल पुल र २२ झोलङ्गे पुल बगाउँदा करिब रु ४१ करोडको क्षति हुन पुगेको छ । बाढीपहिरोका घटनाबाट २८ खानेपानी आयोजनामा क्षति हुँदा रु नौ करोड बराबरको नोक्सान भएको प्राधिकरणले अनुमान गरेको छ।

यस अवधिमा चट्याङ लागेर ११ स्थानमा, पहिरोबाट सात, पुल क्षतिबाट पाँच र लेदोसहितको पहिरो खस्दा आठ स्थानमा गरी देशका ३१ स्थानमा सडक अवरुद्ध भएका थिए ।

देशका विभिन्न स्थानमा दुई सय ३१ राजमार्गमध्ये ४८ राजमार्ग एकतर्फीरुपमा सञ्चालनमा रहेको प्राधिकरणले उल्लेख गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0