आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले ५६० जना आदिवासी जनजातिलाई निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ । सरकारी संयन्त्रमा आदिवासी जनजातिको पहुँच वृद्धि गर्न सक्षम बनाउने उद्देश्यले शाखा अधिकृत र नायव सुब्बा तह अप्राविधिक प्रशासन तर्फको लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको हो । यसको प्रयोजनार्थ प्रतिष्ठानले आगामी कार्तिक १९ गतेसम्ममा इच्छुक उम्मेद्वारहरूलाई अनलाईन फारम भर्न गोरखापत्र राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गर्दै दरखास्त आह्वान गरेको छ ।

तयारी कक्षामा सहभागि हुन इच्छुक उम्मेद्वारहरूले प्रतिष्ठानको वेभसाईट धधध।लामष्ल।नयख।लउ मा रहेको अनलाईन फारम भर्न सक्नेछन् । अनलाईन फारममा तोकिएको प्रमाणहरु अपलोड गर्ने र दस्तुर इसेवामार्फत भूक्तानी गरेपछि प्रवेश परीक्षाको प्रवेश पत्र उम्मेद्वारको इमेलमा आउने व्यवस्था गरेको छ । प्रवेश परीक्षामा उत्तीर्ण ५६० जना उम्मेद्वारहरूले निःशुल्क लोकसेवा तयारी कक्षामा सहभागि हुन सक्नेछन् ।

प्रतिष्ठानको लोकसेवा तयारी कक्षा सञ्चालनको संयोजक राम मादेनले भने ः काठमाडौं उपत्यका वाहिर रहेका इच्छुक उम्मेद्वारहरूको सुविधालाई ध्यानमा राखेर यस वर्ष शाखा अधिकृत र नायव सुब्बा तह दुवैमा भौतिक कक्षाको साथै अनलाईन कक्षा सञ्चालन गरिनेछ । समय र ठाउँको कारणले अनलाईन कक्षाको माग वढेको बताउदै उनले थप गर्दै भने ः प्रतिष्ठानको स्रोत साधनको सिमितताको कारणले भौतिक कक्षा र प्रवेश परीक्षा काठमाडौंमा सञ्चालन हुनेछन् । यसका साथै शाखा अधिकृत र नायव सुब्बा प्रत्येक तहमा ८० जना भौतिक र २०० जना अनलाईन कक्षामा सहभागि हुनेछन् । आगामी मंसिर १५ गतेदेखि कक्षा सञ्चालन गर्ने गरी तयारी गरेको प्रतिष्ठानले प्रवेश परीक्षालाई व्यवस्थित गर्न वेभसाइटमा शाखा अधिकृत र नायव सुब्बा तहको पाठ्यक्रम र मापदण्डहरू प्रकाशित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0