काठमाडौँ: भदौ २७ गते । नेपालले पानी बेच्नु थालेको एक दशक बितिसकेको छ । प्रशोधित र अर्धप्रशोधित खनिजयुक्त पानीका कारण निर्यातले पछिल्ला वर्ष थप गति लिन थालेको छ ।

०७०/७१ मा ३४ हजार रुपैयाँ बराबरको ५ सय २८ लिटर पानी निर्यात भएको थियो । त्यसको एक दशकमा गत आर्थिक वर्ष ५४ करोड ३९ लाख ५२ हजार रुपैयाँ बराबरको पानी निर्यात भएको भन्सार विभागको तथ्यांक छ । ०७८/७९ मा ३० करोड ५३ लाख १२ हजार रुपैयाँ बराबरको पानी निर्यात भएको थियो । यसअघि ८ वर्षमा ६ करोड ५० लाख १९ हजारको पानी निर्यात भएको तथ्यांक छ । भुटान, भारत, हङकङ, अस्ट्रेलिया, चीन, यूएई, जापान, जर्मनी, फ्रान्सलगायत मुलुकमा पानी निर्यात हुन्छ ।

चालु आर्थिक वर्षको बजेटमार्फत अर्थमन्त्री प्रकाशशरण महतले ‘वाटर फ्रम द हिमालय’ को नामले ब्रान्डिङ गरी नेपालले पानी निर्यात गर्ने बताएका थिए । ‘हिमाली क्षेत्रको मिनरल वाटर तथा प्रशोधित पानी निर्यात गर्न आवश्यक सहजीकरण गरिने’ बजेट वक्तव्यमा उल्लेख छ ।

नेपालबाट रसुवा पानी, हिमालयन अन टप, किन्ली, अक्वा फिनालगायत पानी बाहिर गइरहेको नेपाल बोटल एसोसिएसनका महासचिव गोकुल थापा बताउँछन् । ‘ठूलो परिमाणमा उत्पादन गर्न नसकिएकाले माग पूरा गर्न सकिएको छैन,’ उनले भने, ‘सरकारले पनि यो वर्षभन्दा पहिला खासै केही गरेन, उद्योगीले पनि जोखिम मोलेर लगानी गर्न चाहेनन् ।’ भारत, बंगलादेश, चीन, कोरियालगायत मुलुकबाट पानीको माग भए पनि पर्याप्त मात्रामा उत्पादन गर्न नसकिएको उनको भनाइ छ । ‘गल्फ कन्ट्रीबाट पनि पानीको धेरै माग आउँछ, तर एक पटक निर्यात गरेर छोड्ने कुरा भएन, उनीहरूको मागअनुसार निर्यात गर्न हाम्रो उत्पादन नै छैन,’ उनले भने, ‘निर्यातजन्य वस्तु भए पनि पानीमा कसैको ध्यान गएको छैन । सरकारले यसपालि बजेटमा पानी निर्यात गर्ने बताएको छ, अब केही हुन्छ कि ।’ पानीको उत्पादनका लागि गणेश हिमाल, लाङटाङलगायत क्षेत्रमा संघ आफैंले पनि अध्ययन गरिरहेको उनी बताउँछन् ।

‘पानी निर्यातको सम्भाव्यता अध्ययन नेपालदेखि मध्यपूर्वसम्म (२०७६)’ प्रतिवेदनले पनि नेपालले अझैसम्म मध्यवपूर्वका देशमा पान् ीनिर्यात गर्न नसकेको औंल्याएको छ । नीति अनुसन्धान प्रतिष्ठानको उक्त प्रतिवेदनमा उत्पादन र गुणस्तरको आधारमा नेपालका दुईदेखि तीन वटा कम्पनी मात्रै निर्यात योग्य रहेको जनाएको छ । निर्यात र पानीको स्रोतको दृष्टिकोणले नेपालको निर्यात वसन्त ऋतु र हिमनदीको पानीमा केन्द्रित हुनुपर्ने उल्लेख छ । विश्व आर्थिक मञ्चले ८ वर्षदेखि विश्वव्यापी मानव जातिका लागि शीर्ष पाँच खतरामध्ये एक पानी संकटको पहिचान गर्दै आएको समेत प्रतिवेदनमा उल्लेख छ ।

ब्राजिलपछि नेपाल ताजा पानीमा दोस्रो धनी देश भएको दाबी गरिए पनि तुलनात्मक आर्थिक लाभ लिन नसकेको प्रतिवेदनले जनाएको छ । सन् २०१८ मा कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया, बहराइन, ओमान, कुवेतलगायत मध्यपूर्वका देशले १७ करोड २३ लाख डलर बराबरको १८ करोड ३८ लाख लिटर बोतलबन्द पानी आयात गरेको प्रतिवेदनमा उल्लेख छ । ‘नेपालले प्लास्टिकको बोतलको प्रशोधित पानी, बोतलको स्प्रिङ पानी र हिमनदीको पानी उत्पादन गर्न सक्नेछ,’ प्रतिवेदनमा भनिएको छ, ‘ठूलो परिमाणमा पानी निर्यात गर्न सरकारले ६ वटा प्रदेशमा वेभरेजको विशेष आर्थिक क्षेत्रको योजना ल्याउनुपर्छ ।’ पो समाचार कान्तिपुर दैनिकमा छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0