काठमाण्डौं: भदौ १७ गते । तालिम र अध्ययन गर्नु  इजरायल गएका १० जना नेपाली सम्पर्क विहीन भएका छन् ।

११ महिने तालिम तथा अध्ययनका लागि इजरायल गएका १० जना नेपालको साना किसान विकास बैंकबाट छनोट भएका थिए ।

सेडोट नेगेभ एग्रिकल्चर ट्रेनिङ सेन्टरबाट ४ जना, द एक्सट्रनल स्टडिज इन्टिच्युटबाट २ जना, एक कलेजबाट २ जना र अराभ इन्टरनेशनल सेन्टर फर एग्रिकलचर ट्रेनिङ सेन्टरबाट २ जना गरी जम्मा १० जना सम्पर्क  विहीन रहेकोे दूतावासले विज्ञप्तिमार्फत बताएको छ । 

तालिम तथा अध्ययनका लागि आएका विद्यार्थीहरू यसरी सम्पर्क विहीन भएकोप्रति ध्यानाकर्षण भएको भन्दै दूतावासले देशको प्रतिष्ठालाई समेत ख्याल नगरी व्यक्तिगत स्वार्थ र लाभका लागि गैर कानुनी हिसाबले बस्ने नगर्न आग्रह गरेको छ । 

‘दुई चार जनाको बदमासीले गर्दा वार्षिक पाँच सय जनाको ढोका बन्द गरिनु अपराध हो, दूतावासले यो सङ्ख्यालाई बढाएर वार्षिक एक हजार पुराउने प्रयास भइरहेको समयमा यस्ता गतिविधिको कारणले गर्दा समग्र कार्यक्रम नै बन्द हुन सक्ने देखिन्छ,’ दूतावासले विज्ञप्तिमा उल्लेख गरेको छ ।

सम्पर्क विहीन भएकाहरूको दशै जनाको खोजी भइरहेको पनि दूतावासले बताएको छ । सम्पर्क विहीन भएका कतिपय जानकारी पनि दूतावासले पत्ता लगाइसकेको जनाएको छ ।

यसरी सम्पर्क विहीन भएर काम गरेकाहरूलाई प्रहरीको सहयोगमा पक्राउ गरी छिटोभन्दा छिटो नेपाल फर्काउन समन्वय गरिएको दूतावासले बताएको छ । 

सम्पर्क विहीन भएर काम गरिरहेकाहरुलाई दूतावासले सकेसम्म छिटो सम्पर्कमा आउन अनुरोध गरेको छ । सम्पर्कमा आउन ढिलो गरे कारबाहीको निम्ति अगाडि बढाउने दूतावासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0